नारायणप्रसाद निरौला
मन कल्पनाका आँगनीमा रमाइरहको हुन्छ । यसका आयाम भिन्न भिन्न छन् । कहिले आँसु त कहिले हाँसो जीवन यस्तै बिचमा चल्दो रहेछ । सोचे र खोजेजस्तो संसार कसैको हुँदैन रहेछ । र पनि प्रगतिको पथमा निरन्तर लम्कनु मानवीय प्रवृत्ति नै रहेछ । यसरी जीवन चलिरहँदा मन पनि सक्रिय भइरहँदो रहेछ । निरन्तर सक्रिय रहने मन नै कल्पनाको आधार रहेछ । इह लौकिक विषयवस्तुको भोग भित्र नै उड्दो रहेछ मन कल्पनाको साहार लिएर । यस्तै उड्न मन लाग्छ आफूलाई पनि । अनेकौ तरङ्गसँगै उडिदो पनि रहेछ । तर त्यो विस्तारै यथार्थ बन्दै जाँदा मनलै अर्को कल्पनाको लोक निर्माण गरिसक्दो रहेछ । अनि उही अभावको भँगालोमा निरन्तर जीवन व्यतित भइरहँदो रहेछ ।
कलरिजको कल्पना सिद्धान्तको कुरा नगरे पनि उनको कल्पना सिद्धान्त साँच्चि नै सुन्दर छ । सायद कल्पना नहुने हो भने हाम्रो जीवन पनि सम्भव हुने थिएन होला । हरेक विषयवस्तु कल्पना कै त उपज हुन् । भौतिक यथार्थ कल्पनाकै परिणति हो । पन्छी उडेजस्तै आफू पनि उड्ने चेष्टा गर्दा गर्दै राईट दाजुभाइ यान उडाउन सफल भए । ग्राहमवेलले फोनको परिकल्पनामा डुबे, डार्विन विकासबादको कल्पनामा ,फराडे विद्युतीय क्षेत्रमा आदि अदि सबै कल्पनाका कै उपजीव्य हुन् ।
हरदिन अनेकौँ सपनाको संसारसमा शयर गरिरहन्छ मन । कहिले अमेरिका कहिले यूरोप त कहिले स्वदेशी गाउँबेसी वन पाखामा घुमिरहन्छ । घुम्नु र पुग्नु पर्ने स्थान धेरै भए पनि यथार्थमा पुग्न नसकेरै होला मनले धेरै कल्पना गर्छ । अमेरिका पुगेकालाई अमेरिकाको कल्पना व्यर्थ छ किनकि त्यो यथार्थ भइसकेको हुन्छ । जबसम्म कल्पना कल्पनामै रहन्छ तबसम्म जीवनको सुखद पक्ष विद्यमान रहँदो रहेछ । जब त्यो कल्पना यथार्थमा परिणत हुन्छ त्यसबेला त्यो कल्पना गरेजस्तौ हुँदैन । भिन्न नै रहन्छ । अनि पुनः नयाँ कर्म गर्न कल्पना लोकमा शयर गरिरहेको हुन्छ मान्छे । यथार्थको बोध पछि कल्पना शक्ति हराउँछ फलस्वरूप जीवन निरस बन्न पुग्छ । यथार्थको बोध हुन्छ अनि कल्पनाले खेल्ने स्थानको अभाव हुँदै जाँदो रहेछ । त्यसैले अध्यात्मबाद जीवनका लागि ठिक हो जस्तो लाग्छ । किन कि त्यहाँ आशा छ । आशावादी चिन्तनले यथार्थको अल्प बोध मात्र गराउछ । यसैले कलामा कल्पना हुनु आवश्यक छ जस्तो लाग्छ मलाई । यथार्थ भन्दा कल्पनामै रमेको जीवन सफल हुन्छ जस्तो पनि लाग्छ ।
हरेकका आफ्नै विचार हुन्छन् जीवनप्रति । आ आफ्नै दृष्टिकोणमा सबै चलिरहेका हुन्छौ । सबैको कुनै न कुनै विचार एवं सिद्धान्त हुन्छ र त्यसमै मान्छे आफ्नो जीवन व्यतित गरिरहेको हुन्छ । अरुको भन्दा आफ्नै दृष्टिकोण विशेष ग्राह्य हुन्छन् र आफ्नो सिद्धान्त अनुरुप नै अरु पनि चलुन् भन्ने सोच्दो रहेछ मान्छे । तर त्यो हुन सक्दो रहेनछ । अनि अर्काको आलोचना गर्न पुग्दो रहेछ मानव मन । त्यसैमा आफ्नो पुरुषार्थ ठान्दो रहेछ । यो मानवीय इगो भएन भने जीवन चलाउने चक्र पनि सायद प्रभावित पर्ने भएर होला हरेक मानव आफ्नै विचारमा बाँचिरहेको हुदो रहेछ ।
मानवीय प्रवृत्ति जस्तो छ त्यो अरुकोजस्तो हुँदो रहेनछ । संसारमा सबै भिन्न भएकाले विचारमा पनि भिन्नता आउनु स्वाभाविक नै हो । यही विचारको विविधतामा संसार चलेको छ । दार्शनिकका विचार भिन्नै हुँदा रहेछन् । ती दर्शनको नजिक भए पनि पूर्णतः कुनै दर्शनमा आधारित रहेर मान्छे बाँच्न सक्दो रहेनछ । कतै न कतै स्वयं दर्शन बनेर आफ्नो जीवन व्यतित गर्दो रहेछ मान्छे । सिद्धान्तका जति कुरा गरेपनि स्वयं आफ्नै सिद्धान्तमा पनि अडिक हुन सक्दो रहेनछ ।
कहिले खुसी त कहिले दुःख । जीवन यस्तै आरोह अवरोमा गतिशील भइरहदो रहेछ । मन निरन्तर चिन्तनशील भइरहँदा अनेकौ आरोहमा होमिदो रहेछ अनि स्वयंकै विचारले अवरोहको ओरालीमा पनि अगाडि बडाउनु पर्दो रहेछ मानव जीवन । न सोचेजस्तो न खोजेजस्तो । जीवन भिन्नै तरिकाले व्यतित हुँदो रहेछ । आफू त आफ्नै तरिकाले जीवन हाँक्न खोजिदो रहेछ । तर आफ्नै हातमा आफ्नो जीवन हुँदो रहेनछ । आफूमै निराशको वादल बोकेर पनि जीवन बाँच्नु पर्दो रहेछ । समयको रफ्तारसँगै उडिरहँदा अनेकौँ उल्झनसँग अल्झिदै अल्झिदै जीवन जँघारमै पनि कटाउनु पर्दो रहेछ । सुख दुःखको दौरानमा निरन्तर लागिरहँदा मनमा अनेकौ उहापोहहरू पनि आउँदा रहेछन् । कतिपय सँङ्लिदै त कतिपय धमिलिदै अघि बढ्दो रहेछ जीवन । हुन त हाम्रै हातमा छ भन्छौ जीवन । तर स्वयंबाट विचलित बनिरहँदा आफूमै प्रश्नको पहाड पनि बन्दो रहेछ जीवन ।
यथार्थ सबैभन्दा भिन्न हुँदो रहेछ । कतिपय सन्दर्भमा यथार्थ विर्सिएर पनि जीवन गुजार्नु पर्दो रहेछ । अनन्त आकाशमा बात्तिए पनि यथार्थको धरातल भिन्न हुँदो रहेछ । आशाका किरणसँगै कल्पनातीत बनेर आकाशका उडेको मान्छे यथार्थको धर्तीमा झर्दा भिन्नै हुँदो रहेछ । कतिपय सन्दर्भमा उड्न पनि मन लाग्छ । कल्पनाको कसीमा कसिए पनि यथार्थ डोरी भिन्नै हुँदो रहेछ । आफूमै अनौठो बनेर जीवन व्यतित हुँदो हेछ । जति अरुको आलोचना गरेनि त्यसलाई स्वयं जीवनमा उतार्न निकै कठिन पर्दो रहेछ । अझ भनौ आफ्नै जीवन आफ्नो हातमा हुँदो रहेनछ ।
कल्पना जीवनको प्राण हो । मन कल्पनाकै साहारामा बाँचिरहेको हुन्छ । जब कल्पना सकिन्छ जीवन पनि मोविल विनाको गाडी जस्तै नीरस बन्दो रहेछ । कल्पना र यथर्थ भिन्न कुरा हुन् । यथार्थले कल्पनालाई नष्ट गर्ने यत्न गरिरहेको हुन्छ । यी चुम्बकीय ध्रवजस्र्तै लाग्छन् मलाई । एक आपसमा मिल्न नसक्नु नै जीवन हो जस्तो लाग्छ । त्यसैले कल्पनाशील मानव नै सार्थक जीवन जिउन सक्छ । जीवनमा यथार्थ भन्दा कल्पना नै बढी रहनु पर्छ जस्तो पनि लाग्छ मलाई ।

0 Comments