नारायणप्रसाद निरौला
वर्तमान परिस्थितिले किन हो किन त्यत्तिकै बस्न दिइरहेको छैन । मनमा मडारिएको घना वादललाई कतै अर्को वादलसँग जुधाएरै भए पनि पानी नवर्षिउन्जेलसम्म शान्ति होला जस्तो लाग्दैन । यो त्यसै त्यसै अनयास मडारिएको मनमा देशको वर्तमान परिस्थितिले झन् पिरोलि रहेको छ । मनमा अनेकौँ आन्दोलनका बाढी चलिरहन्छन् । मार्गदर्शकको सही मार्गदर्शन विना नै जीवनलाई अन्योलको अँधेरीमा अगाडि बडाएको भान भइरहेको छ । वर्तमान युग भिन्नै भइसकेको छ । चलन अनेकौँ आइरहेका छन् । सत्य र निष्ठा आज नियति बनेर युगरूपी नौनी मथिरहेका छन् । आजको आम परिस्थिति भिन्न छ । हिजोको जस्तो सत्य त्रेता र द्वापर युग आज छैन । कलियुगको कालो वादल आज वेष्टित छ आकाशमा । फेरिएका छन् मान्छेका जीवन शैली । प्रविधिमयी बनिरहँदाको परिवेशलाई बुझ्न नसक्नु नै विडम्बना बनिरहेको छ । त्यसैले जीवनलाई युगानुकूल बनाउनु पर्छ जस्तो लाग्न थालेको छ अचेल ।
आजको युग विज्ञान र प्रविधिले पिल्सिएको पन्छी जस्तै फट्फटाइरहेको छ । मान्छेमा तीब्र प्रतिस्पर्धासँगै कार्यको तत्काल प्रतिफल खोज्ने बानी परेको छ । धैर्यको बाँध निरन्तर खुकुलो बन्दै गर्दा आजको परिस्थिति भिन्न भएको हो । इतिहास पनि जित्ने को नै घोडा भन्छन् । अचेल त्यस्तै लाग्न थालेको छ । यो संसार जित्ने को नै हो । हार्नेको केवल हार मात्र रहेछ । जसको शक्ति उसैको भक्ति रहेछ यो संसार । आजको उत्तरआधुनिक चेतले पनि यही कुरा दर्शाइरहेको छ । विश्व इतिहासका पाना पल्टाएर हेर्ने हो भने पनि सोही कुरा झल्किन्छ । चाहे रामायण र महाभारत हुन् चाहे इलियड र ओडेसी सबै शक्तिकै कथा हुन् । आज मान्छे विज्ञान र प्रविधिको पासोमा अल्झिसकेको छ । आनन्दको नन्दन वनमा रमाउने सपना बुन्दै अनेकौँ दुःखका दाँती चलाइरहेको छ मान्छे । युग वदलिसकेको छ । समयसँगै परिवेश पनि वद्लिएको छ । हरेक मान्छेका मनोभावना भिन्न भइसकेका छन् । भिन्न परिवेशमा रुमलिँदै आम मान्छे शान्तिको सास फेर्न नसकेरै रन्थनिरहेको छ । अनेकौँ विषय र प्रसङ्गको पासोमा निरन्तर अभावको आगोले पिल्सिरहेको छ मान्छेलाई । असन्तोषको आँधी निरन्तर चलिरहँदा मार्गहीन भएको देखेर नै सन्तोषं परमं सुखम्(सन्तोष नै परं सुख हो )को गीत गाइएको होला । हुन त सबैमा सन्तोषको तोषले पनि पोस दिन नसकेर अर्को वचन आएको होला अति सर्वत्र वर्जयेत्(अति कहीँ पनि नगर्नू) । अतः मध्यमार्गी धारको बाटो नै उत्तम होला जस्तो लाग्छ मलाई ।
हिजोको इतिहासका पाना पल्टाएर हेर्ने हो भने केही पाठ लिन सकिन्छ । वेदका वाक्य पनि शक्ति सञ्चयार्थ नै संरचित पाइन्छन् । वेद विहित यज्ञको उपादेय पनि केवल शक्तिको प्राप्ति नै हो । इतिहास पुराणका कथामा पनि शक्तिको नै उपासना पाइन्छ । स्वर्गका राजा इन्द्र पनि शक्तिहीन भए पछि ब्रहा ,विष्णु र महेशका शरणमा गएका छन् । भगवान्बाट पाएको शक्तिमा नै देवगण रमाएको कथा प्रसङ्ग पुराणमा यत्र तत्र पाउन सकिन्छ । दैत्य पनि शक्तिका नै उपासक हुन् । उनीहरू पनि स्वर्गीय आनन्द हत्याउन हजारौँ वर्ष तपस्याको वेदीमा होमिएका छन् । देवताले जस्तै सुखभोग गरेका छन् अनि अन्ततः एउटै गति जो सबैले प्राप्त गर्छन् सोही मार्गमा गएको देखिन्छ । इन्द्रका पछि लागेका अन्य देवताका तुलनामा इन्द्र नै किन सधैँ श्रेष्ठ रहिरहे ?अरु किन इन्द्र बन्न सकेनन ? जति इन्द्रको बारेमा लेखियो किन अरुको बारेमा लेखिएनन् । के एक्ला इन्द्र मात्र समर्थ थिए त ? हो यहाँ शक्तिले काम गर्छ । इन्द्रमा त्यो शक्ति थियो जसले गर्दा देवराजत्व प्रप्त भइरह्यो । अतः आजको युगमा पनि हरेक कार्यका निम्ति अझ भनौ पद र प्रतिष्ठाका निम्ति पनि शक्ति हुनु आवश्यक छ ।
चहे त्रेतायुगका घटना प्रसङ्ग हुन् चाहे द्वापर युगका यी सबै शक्तिकै खेल हुन् जस्तो लाग्छ मलाई । महाभारतको युद्ध पनि उही शक्तिकै उन्मादका कारण छेडिएको थियो । दुर्योधन पनि सारा शक्ति हातमा राख्न चाहन्थ्यो तर नियति नै त्यस्तै,अधर्मको अगुल्टोले उसैलाई पोलेर सक्यो । पाण्डवले पनि शक्तिकै भरमा महाभारत जितेका हुन् । परं शक्ति भगवान् श्रीकृष्ण नपाएका भए पाण्डवको पनि उही गति हुन्थ्यो । धर्मको साहाराले गर्दा पाण्डवले युद्ध जिते पनि युद्धमा आम जनता सबै दोषका भागीदार भने बनेरै छाडे । कुरुवंशको कथामा हजारौँले ज्यान गुमाए तर जीतको भागीदार पाण्डवमात्र बने अरुको इतिहास उही ओझेलमा नै परिरह्यो । त्यसैले लाग्छ मलाई शक्ति सर्वप्रथम हुनु आवश्यक छ । जसरी भए पनि शक्ति अर्जन गर्नसक्नु पहिलो प्राथकिता हुन्छ जस्तो लाग्छ जीवनमा । जसरी अर्जुनले युद्धपूर्व तप गरी शिवास्त्र एवं स्वर्गका सम्पूर्ण विद्या र अस्त्र हात पारेका थिए त्यसैगरी आजको युगमा पनि यस्तै विविध शक्ति संचय गर्नु आवश्यक छ अर्जुनको जस्तै दिव्यास्त्रधारी बन्नु आज आवश्यक छ ।
युग सँगै परिवर्तित पनि बन्न सक्नु पर्दो रहेछ । समयको मागलाई व्यवस्थित गर्न सकिएन भने पनि जीवन असहज बन्न पुग्दो रहेछ । भोलिको भविष्यलाई हेरेर आजको समयानुकुल हुन नसक्दा निकै चिन्ताका चपेटाहरू झेल्नु पर्दो रहेछ जीवनमा । सत्य र निष्ठाको बाटोमा वाङ्गिनु पर्छ भने पनि समयमा सोही अनुरुप हुनु पर्दो रहेछ । नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हत भन्ने युधिष्ठिरको भनाइबाट पनि केही पाठ लिन सकिन्छ । उत्तर दिने शैली परिवर्तन गरेरै भए पनि द्रोणाचार्यलाई निस्तेज गरेर नै महाभारतमा पाण्डव विजयी भएका हुन् । त्यसैले समयको जस्तो माग छ तदनुकुल जीवनलाई स्वधर्मको अनुकुल बनाउनु पर्दो रहेछ । समयको उतारचढाव भइरहे पनि सत्यको मार्ग कदापि विचलित हुँदैन जस्तो लाग्छ । अन्ततः जीत सत्यकै हुन्छ । सत्वले नै मान्छेलाई सजीव तुल्याउछ । हो सत्य बेच्ने हो भने अथाह धन आउछ तर सुन्दर जीवन प्राप्त हुन सक्दै । सन्तोषका सास नफेर्दै इहलीला समाप्त हुन सक्छ । अतः आशामयी जीवनले नै सफलताको फल दिन्छ ।
समयका सूईहरू निकै घुमिरकेका छन् । उत्तर संरचनावादी संसारमा एकत्वको अश्वीकार भइसकेको छ । आज एक विषयक्षेत्रको विज्ञ भन्दा पनि धेरै विषयको अल्पविज्ञले प्रश्रय पाउछ । अतः अगाडि आएका कार्यलाई पन्छाउने नभई सम्पन्न गर्ने तर्फ लाग्नु नै उचित हुने देखिन्छ । समयले दिएका वस्तुलाई उपहार ठन्दै कर्मको रेखीमा सत्य र निष्ठापूर्वक हिँड्न सकियो भने नै जीवनले सही गति लिन सक्छ । भौतिक र अध्यात्म वर्तमानका दुई मुख्य दर्शन हुन् । भौतिकताको भँगालोले निरन्तर भासमा भसाइरहन्छ भने अध्यात्मले आशै आशमा आनन्दको श्वास दिइरहन्छ । रोजाई सबैका आ–आफ्ना हुन सक्छन् । कसैको कुनै बन्धनले मान्छे बाँधिँदैन । बाँधिन्छ केवल उसैको स्वच्छन्द विचार धाराले । ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्ने बालकृष्ण समको भनाई त्यत्तिकै आएको होइन । वास्तवमा ज्ञान भनेको नै अध्यात्म हो भने विज्ञान भनेको नै भौतिक दर्शन हो । लक्ष्मीप्रसाद देवकोटा पनि आफ्नो अन्तिम कविता सृजनामा पनि आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक भन्ने कवितांश संसारमा छोड्दै आफू परलोकको पवित्र यात्रमा लीन भएका थिए । विश्वका महान दार्शनिकहरूका चिन्तन पनि यिनै भौतिक र आध्यात्मिकताकै आडमा उभिएका छन् । अतः भौतिकताको भोगसँगै अध्यात्मको आँगनीमा अडेस लाग्नु नै उचित होला ।

0 Comments