नारायणप्रसाद निरौला
युग परिवर्तित छ ,संसार पनि युगसँगै परिवर्तनका पाना पाल्टाइरहँदो रहेछ । बदलिँदो परिस्थितिसँगै हिड्नु पनि आजको आवश्यकता बनेको छ । युग सँधै एउटै रहँदैन । समयका चक्रसँगै परिवर्तन भइरहने युगलाई जित्ने सामथ्र्य मान्छेमा हुँदैन । समयको गतिसँगै मान्छे पनि प्रवाहित भइरहँदो रहेछ । अजको युग कलिको हो । पौरस्त्य पुराणका वाक्यले पनि आजको युगलाई चित्रण गरेका छन् । हिजो के कस्ते थियो र आज भोलि के हुन्छ यसको प्रक्षेपण प्राचिन ऋषिमहर्षिहरूले गरिसकेका छन् । त्यो अध्ययन गर्न नसक्नु र तदनुरूप हुन नसक्नु आजको कमजोरी बनेको छ ।
कलि युगका बारेमा पुराणमा विशद विवेचना पाइन्छ । धर्मका चार पाउ मध्ये एक पाउमात्र कलियुगमा रहनेछ भन्ने प्रक्षेपण र वर्तमान अवस्थिति मिल्दो जुल्दो भएको छ । सत्य युग देवताको युग हो । जुन समयमा अधर्म थिएन । सर्वत्र धर्मकै चर्चा परिचर्चा हुने गर्दथ्यो । अशान्तिका वादल कतै पनि देखिदैन थिए सर्वत्र शान्त सुरम्य संसार थियो । सत्य युग पछि त्रेता युग लाग्यो । त्रेता भगवान रामचन्द्र अवतारको युग हो । जुन बेला धर्मका तीन पाउ मात्र थिए । अर्थात् भनौ ७५ प्रतिशत धर्म विद्यमान थियो । अधर्म भन्दा पनि धर्मले जितेका कारण खासै अशान्ति थिएन । भगवान रामचन्द्रले सीता वियोगको पीडा खेप्नु पर्ने कारण पनि युगजन्य परिस्थिस्थितिको पीडा नै हो । अधर्मको प्रवृत्ति बढेको उदाहरण नै रावण हो । अधर्म एवं असत्यको अंकुरण यसै समयबाट भएको पाइन्छ ।
त्रेता पश्चात् द्वापर युग आएकोे हो । द्वापर श्रीकृष्ण अवतार भएको समय हो । यही कालखण्डमा महाभारतको युद्ध छेडियो । यो कालखण्डमा धर्म र अधर्म बरबर थिए । अर्थात् धर्म पचास प्रतिशत थियो भने अधर्म पनि सोही बराबर थियो । भगवान् श्रीकृष्णको परलोकधाम गमन पश्चात् कलियुगको आरम्भ भएको हो । कलियुगमा धर्म एक पाउ र अधर्म तीन पाउ रहने कुरा पुराणमा वर्णित पाइन्छ । ४३२००० वर्ष कलियुगको समयावधि बताइएको छ । यो समयमा अधर्मको आधिक्यता र धर्मको न्यूनता रहन्छ भन्ने पुराणको प्रक्षेपण पूरा भइरहेको पनि पाइन्छ । राजा परीक्षितले कलिलाई दमन गर्न खोज्दा कलिले निवास गर्ने स्थान माग गरेपछि जुवा ,मदिरा,स्त्री र हिंसामा निवासको स्थान दिइयो । यिनमा क्रमशः असत्य,मद,आशक्ति र निर्दयता रूपी अधर्म रहे । सबै नराम्रा स्थानमा मात्र निवास भएकाले एउटा राम्रो वस्तुमा पनि वस्न पाउँ भन्ने कलिको आग्रह पश्चात् सुनमा निवास गर्न छुट दिएको कथा श्रीमद्भागवत अन्तर्गत प्रथमस्कन्धको सत्र अध्यायमा वर्णन गरिएको छ ।
यो समय कलिको हो । कलि कालमा सदाचार,योगधर्म र तप सबै हराएर जान्छन् । मान्छेको प्रवृत्ति दुष्कर्मतर्फ बढी हुन्छ । कलिकालमा सत्पुरुष सधैँ दुःखी हुन्छन् भने असत् अर्थात् दुष्ट जन सधैँ सुखी रहन्छन् । जो अल्पज्ञानी छ त्यो नै पण्डित कहलिन्छ । माङ्गलिक भन्दा पनि अमाङ्गलिक कार्यले निरन्तर प्रश्रय पाइरहन्छन् भन्दै श्रीमद्भागवत् माहात्म्यमा नारदले भक्तिलाई बताएको प्रसङ्गबाट पनि कलि युगको अवस्थिति आँकलन गर्न सकिन्छ । अझ भनौ राजा परीक्षित पनि कलिकै पासोमा परेर समिक ऋषिलाई अपमान गर्न पुग्छन् । सोहीकारण उनलाई सात दिनमा तक्षक नागले डसेर मर्ने श्रापा लाग्छ र उनी वैराग्यको बाटो समातेर ज्ञान यज्ञद्वारा परलोकको मार्गमा यात्रारत हुन पुग्दछन् ।
हालसम्म सृष्टिको आरम्भदेखि १९५५८८५११५ वर्ष वितिसकेका छन् । सृष्टि आरम्भ पश्चात नै युगधर्मको शुरुववात पनि भएको हो । कलियुगका त अहिले भर्खर ५११५ वर्ष मात्र वितेका छन् । अझ भनौ कलि युगको यो प्रथम चरण हो । कलिकालको पहिलो चरणमै त यस्तो जर्जर अवस्था छ भने अझै चार लाख सत्ताइस हजार वर्ष व्यतित हुन बाँकी नै छ । त्यसैगरीे कलिको अन्त्यकालमा प्रलय हुने कुरा पनि पुराणमा वताइएको छ । आजको जस्तै प्रकृतिको दोहन भइरहने हो भने प्रलय हुन सक्ने अनुमान स्वतः लगाउन सकिन्छ ।
उत्तरआधुनिकतावाद पाश्चात्य मुलुकमा सन् १९६०बाट देखापरेको हो । कलिकाल आजभन्दा पाँचहजार वर्ष पहिले देखिनै आरम्भ भइसकेको छ । आजका हामी पाश्चात्य मान्यताका उत्तरआधुनिकतावादी चिन्तन गर्दा गौरव गर्छौँ तर आफ्नै कलियुगीन चिन्तनलाई विर्सिरहेका छाँै । अज देखिएका मूल्य र मान्यताको हजारौँ वर्ष पहिले नै प्रक्षेपण भइसकेको छ र तदनुरूप आज पाइरहेका पनि छौ ।
पूर्वीय कलि चिन्तन पाश्चात्य उत्तरआधुनिकता भन्दा पाँचहजार वर्ष अगाडि रहेको कुरा त यसै तथ्यले पनि प्रष्ट्याएको छ । युगीन प्रवृत्तिलाई पनि हाम्रा ऋषि महर्षिले वेलैमा सचेत गराएका छन् । समयको माग युगीन हुन्छ र युग अनुकुल हुनुपर्छ भन्ने पाठ पनि हाम्रा प्राच्य ग्रन्थहरूमा स्पष्ट उल्लेख पाइन्छ ।
कलियुगीन प्रवृत्ति र आजको उत्तरआधुनिकतावादी चिन्तनलाई छुट्टै कित्तामा राखेर विश्लेषण गर्नु उपयुक्त जस्तो लाग्दैन मलाई । आजको समयमा हरेक कुरा उल्टिएका छन् । जसरी जुवामा कलिलाई निवास दिइएको थियो त्यसैगरी आज क्यसिनो मौलाएका हुन् । आज विश्व बजारमा सर्वाधिक विक्री हुने वस्तु नै मदिरो हो । मदिरा पिउने व्यक्तिकै बोलबाला हुने कलियुगीय धर्म भएकाले आज मदिराका दिन सप्रिएका हुन् । हिंसा आज विश्वको समस्या र चुनौतिको विषय बनेको छ । दिनहुँ जसो युद्धका समाचार प्राथमिकतामा परिरहेका हुन्छन् । आज हरेक ठाँउमा मान्छे हिंसाका शिकारी र शिकार दुवै भइरहेका छन् । सबै कारण समयको हो । समय नै यस्तै छ । हामी विनाश तर्फ नै उत्पे्ररित भइरहेका छाँै । एक पटमक सोच्ने समय आएको छ ।
असत्य,मद,आशक्ति र निर्दयता आज मौलाएका छन् । झुट आज सबैको पहिलो मन्त्र भएको छ । मान्छेमा सत्यता ह्रास भइसकेको छ । कलियुगको प्रवृत्ति नै यस्तै भएकाले आज अधिकंशमा असत्यको वादल ढाकिएको हो । अधर्म र अशान्तिको आगो निरन्तर बलिरहेको हो । विनिर्माणका उदाहरण हनुमान पनि हुन् । उनी मान्छे पनि र वानर जस्ता पनि थिए । न त मान्छे न त वानर त्यसैले आजको हाइ्िरब्रड पद्धतिको विकास आरम्भ त्रेतायुगवाटै भएको देखिन्छ । द्वापर युगका शिखण्डी,तेस्रो लिङ्गीका प्रतिनिधि पात्र हुन् ।
आजका मान्छेमा हरेक कुराको मद छ । धन ,ऐश्वर्य ,विद्या ,बुद्धि आदि आदिको । थोरै काम गरेर धैरै प्रचार गर्ने विज्ञापनको प्रवृत्ति पनि यही मदको पराकाष्ठा हो । अकवरी सुनलाई कसी लाउनु पर्दैन भने भैm सूर्यको प्रकाश कहाँ लुकेर बस्न सक्छ र ? यसैगरी आशक्ति अर्को मानवीय कलि युगीन प्रवृत्ति हो । हर जीवात्मामा आशक्तिको मात्रा अत्याधिक छ । कर्म नगरी फलको आशक्ति हुने आजको आम प्रवृत्ति देखा परेको छ । दया पनि निरन्तर क्षीण बन्दै गएको छ । मान्छेमा हिंसात्मक प्रवृत्तिले गर्दा निर्दयता मौलाएको हो । यो आजको युगले दिएको उपहार हो । त्यसैले आजको समय भिन्न रहेको र समयको सचेतता सँगै सत्यको मार्गमा लाग्नु नै जीवनको परं उपलब्धी हुने कुराको ज्ञान हुनु जरुरी देखिन्छ ।

0 Comments